२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले शेरबहादुर देउवा र शेखर कोईरालाई आफ्नो समुहमा छलफल गरेर निर्णय दिने बताएका छन् । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न शेरबहादुर देउवा र शेखर कोइरालाले कसरत सुरु गरेका छन् ।
पहिलो चरणमा जितका लागि आवश्यक बहुमत नपाएपछि शेरबहादुर देउवाले दोस्रो चरणको चुनावमा निर्णायक बन्ने देखिएका सिंहलाई आफ्नो पक्षमा ल्याउन कसरत सुरु गरेका छन् । देउवाले आफ्नो समुहका बालकृष्ण खाँड र बिरबहादुर बलाएरलाई सिंहको निवास चाक्सीबारी पठाएका थिए । सिंहले खाँडलाई साथीहरुसँग छलफल गरेर निर्णय लिने जवाफ दिएका हुन् ।
उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका छन् । विमलेन्द्र निधिले पनि सिंहसँग टेलिफोन कुराकानी गरेका थिए । कांग्रेसमा गणेशमान सिंहको बिरासतलाई जहिले ‘कर्नर’ मा पारिएको भन्दै त्यसलाई समेत मध्यनजर गरेर निर्णय लिने प्रकाशमानले बताएका हुन् । देउवासँग ‘डिल’ गर्ने भए कुन शर्तमा गर्ने भन्नेबारे साथीहरुसँग प्रकाशमानले छलफल गरिरहेका छन् । सोमबार भएको चुनावको मतगणना सकिँदा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण दोस्रो चरणमा चुनाव हुने भएको हो ।
४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा विजयी हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढीको आँकडा पार गर्नका लागि कुनै पनि उम्मेदवारलाई २३ सय ४० मत चाहिने थियो । तर सभापतिको मतगणना सकिँदा वर्तमान सभापति शेरबहादुर देउवाले २२५८ र उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत पाए । यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ तथा कल्याण्ड गुरुङले २० मत पाएका छन् । देउवालाई ८२ मत अपुग भयो ।





