राजनीति

अध्यक्ष दाहालको आरोपः ओली आजपनि प्रतिगमनकै बाटोमा छन्

५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजपनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीले संसद लगातार अबरुद्ध गरिरहेकाले ओली अहिलेपनि प्रतिगमनकै बाटोमा रहेको प्रमाणीत हुने बताएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो,’ उनले भने, ‘बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने थियो । ठूलो षड्यन्त्र अनुसार उनलाई बचाइएको हो ।’ उनले ओलीले हार स्वीकार गरेर नयाँ पार्टी दर्ता गरेको तर, असंवैधानिक रुपमा निर्वाचनमा आयोगमा लगिएका मानिसहरुले उनलाई बचाइएको दाबी गरेका छन् ।

अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कमजोर हुन नदिने विश्वास दिलाएको समेत बताएका छन् । दाहालले एमालेले अहिलेको गठबन्धन टुट्छ भने कांग्रेसलाई एकलौटी सरकार बनाउन दिने, एमसीसी पास गर्न सहयोग गर्ने जस्ता प्रस्ताव राखेको भन्दै यो पनि प्रतिगमनका लागि वातावरण बनाउने प्रयास भएको बताएका छन् ।