८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीकै कारण सत्ता गठबन्धन टुट्न नदिईने बताएका छन् । एक सञ्चारमाध्यमसंगको अन्तवार्तामा अध्यक्ष दाहालले एमसीसी कै कारण अहिलेको गठबन्धन नटुट्ने र टुट्न नदिने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधारको पक्षमा रहेको भन्दै एमसीसीको कारणले गर्दा गठबन्धन नटुट्ने बताएका हुन् । अध्यक्ष दाहालले एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने बताएका हुन् ।
अहिलेको देशको परिस्थिति विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने नरहेको उल्लेख गर्दै दाहालले एमसीसीमा आवश्यक सुधार गर्नुपर्ने बताएका छन् । एमसीसीका बारेमा केही गम्भीर प्रश्न उठेकाले पनि आम नागरिकमा रहेको सन्देहलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । सुरुको सहमतिमा एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने उल्लेख नभए पनि पछि कहाँबाट त्यो प्रावधान ल्याइयो भन्नेबारे प्रस्ट पार्नुपर्ने पनि उनले बताए ।
एमसीसीको बारेमा राष्ट्रिय सहमती हुनुपर्ने, राजनीतिक दलहरुबीच अधिकतम सहमती हुनुपर्ने भन्दै जबर्जस्ती पारित गर्न खोजेमा अप्ठेरो स्थिति आउने बताएका छन् । साथै उनले एमसीसीबारे विवादका विषय अध्ययन गर्न गठित कार्यदलले काम गरिरहेको बताएका छन् । जुन प्रावधानले नेपाललाई अप्ठ्यारो पारेको हो त्यो सच्याइनुपर्ने दाहालको भनाइ छ ।





