९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आउने चुनावले कुन पार्टीको हालत के हुने भन्ने देखाउने बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी एकीकरण कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै अध्यक्ष दाहालले कसैले अहिले धाक धम्की दिए पनि चुनावले वास्तविकता देखाउने बताएका छन्
उनले ओली अहिले गाउँ–गाउँमा शिला खोज्न निस्किएको बताएका छन् । ओलीले बिहीबारमात्रै पर्सामा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष जितेका जालिम मियाँलाई एमालेमा प्रवेश गराएका थिए । ओलीलाई प्रतिगमनकारी शक्ति भन्दै प्रचण्डले गत वर्ष पुस ५ मा संसद विघटन गरेर अहिलेको व्यवस्था उल्टाउन खोज्ने ओलीको प्रयासलाई सबै मिलेर सफल हुन नदिएको बताए । उनले अहिलेको पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउँदै लैजानु पर्ने पनि उल्लेख गरेका छन् ।
यस्तै अध्यक्ष दाहालले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । उनले गत पुस ५ मा संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले प्रतिगामी कदम चालेको बताएका छन् । यस्तै अध्यक्ष दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान हालत आगोसँग खेल्न खोज्दा भएको बताएका छन् । आफूलाई आगोको संज्ञा दिँदै उनले आगोसंग खेल्ने दुस्साहस नगर्न समेत चुनौती दिएका छन् ।





