राजनीति

सङ्घीयता सफल कार्यान्वयनका लागि मेलमिलापको खाँचोः प्रधानमन्त्री देउवा

१६ पुस, काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो राजनीतिक सङ्घर्षबाट जारी भएको संविधानमा जनचाहनाअनुसार व्यवस्था गरिएको सङ्घीयता बचाएर राख्न राजनीतिक दल र नागरिक बीचमा मेलमिलाप हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी सङ्ग्रहालय समिति सुन्दरीजलमा आज आयोजित कार्यक्रममा उनले हिजो बीपीले जुन अर्थमा राष्ट्रिय सहमति र मेलमिलाप नीति खोज्नुभएको थियो, आज मुलुकको वर्तमान अवस्थामा पुनः त्यही नीति र एकताको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री र मुलुकको जेठो लोकतान्त्रिक पार्टीको सभापति हुनाका नाताले सबैबीच राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । आफू भर्खरै पार्टीको १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएको बताउँदै उनले यस कार्यकाललाई पूर्ण सफल बनाउन थप जोश र जाँगरका साथ काम गर्न अग्रसर रहेको बताए । सभापतिका हैसियतमा सङ्ग्रहालयको प्रमुख संरक्षकसमेत रहेका उनले सङ्ग्रहालयमा रहेको बीपीको प्रतिमामा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष परशुराम पोखरेलले बीपी सङ्ग्रहालय स्थापनाका मूल मर्म आत्मसात गरेर कांग्रेसका नेता कार्यकता मात्र नभई सबैले मुलुक र जनताप्रतिको आफ्नो जिम्मेवारी तथा दायित्व बहन गर्नुपर्ने बताए । उनले मुलुक र जनताको हितका लागि बीपीले सामना गर्नुपरेका सङ्घर्ष र चनौतीका बारेमा सबैलाई अवगत गराउन नै जेललाई सङ्ग्रहालयमा रुपान्तरण गर्नुपरेको धारणा व्यक्त गरे ।

कांग्रेसका संस्थापक नेता बीपी कोइराला विसं २०३३ पुस १६ गते तत्कालीन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरी ज्यानै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । कांगे्रसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।