राजनीति

‘खादा’ को बढ्दो प्रयोग र असरः प्लास्टिकबाट बनेका र नसड्ने खादाहरू प्रयोग नगरौं

तिब्बतीयन बौद्ध धर्म अनुसार चार टिचिङ निङ्गमा, गेलुक्पा, कग्युपा, सक्यापामा चढाउने केहि बिशेष खालको कपडाको रूपमा खादाको शुरुवात भएको हो भनिन्छ। यो सिल्क मलमल कपडाबाट बनेको पहेलो, सेतो र बिभिन्न रंगमा बौद्ध मन्त्र सहितको छापेको कपडाको उपहार हो । खासगरी मान्छे जन्मिएर शुद्ध चोखाई सकेपछि बिहे, ब्रतबन्ध, छेवार, पास्नी, बिदाइ, स्वागत र कहिँ कतै मृत्युपछीको सम्मानमा प्रयोग हुने यो खादा पछिल्लो समय भने बिभिन्न राजनीतिक पार्टीका नेताहरुको सम्मानमा, सामाजिक संघसस्थाका प्रतिनिधिहरुको सम्मानमा बढी प्रयोग हुँदै आएको छ । यो प्रयोगले फूलको मालालाई लगभग विस्थापित गर्दैछ। सजीलै पाईने, जहा पनी पाईने र कम मुल्यमा समेत पाईने अनि मालाको सट्टा सम्मानमा प्रयोग हुनसक्ने अबस्था आएपछि ‘खादा’ को प्रयोग बढ्दै गएको छ।
बौद्ध धर्मालम्बीहरुले खास प्रयोजनमा प्रयोग गर्ने खादा, अहिले निकै परिमार्जित भै सकेको छ। अब त मफलर जस्तो देखिने र अझै ढाकाको कपडा या ढाका जस्तै देखिने कपडा पनी ‘खादा’ कै नाममा अझै बढि चलनचल्तीमा छ।
पछिल्लो समयमा आएर केही ब्यक्ति वा संघसंस्थाहरूले डाकाको कपडालाइ खादाको रूपमा औपचारिक कार्यक्रमहरूमा केवल सजावट तथा फेसनको रूपमा प्रयोग गर्न थालिएको छ । सामान्य डाकार्को कपडा न त त्यसमा अष्टमंगलम अंकित छ नत खादाको रङ अनि अन्य खादामा हुनुपर्ने गुणहरू अनि परम्परागत महत्व नै ।यसले खादा जस्तो पवित्र बस्तुको महत्वलाइ अपहेलना तथा वेवास्ता गरेको धर्म गुरू तथा जानकारहरू बताउछन् । अत पबित्र कामको सुरूवात गर्दै हुनुहन्छ भने पबित्र आत्माले पबित्र खादाको प्रयोग गर्नुपर्ने भनिन्छ पनि।
नेपाल सरकारले नेपाल हस्तकला महासंघलाई भिजिट नेपालको लोगो सहितको करिव ६ हजारभन्दा बढी खादा बनाउन अर्डर दिएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोग गर्न प्रतिवन्ध लगाएको थियो ।
विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट बार्षिक करोडौँ रुपैँया बाहिरिने भन्दै सचिव प्रेमकुमार राईको निर्देशनमा मन्त्रालयले त्यस्तो निर्देशन जारी भएको थियो । कहि कतै खादा नलगाउने कुरा गरिन्छ त कतै निर्णय गरिन्छ अनि यसलाई फेरी धर्मसंग जोडेर उचालिन्छ पनी तर यो ‘खादा’ सम्बन्धमा केहि सोच हुन जरुरी चै छ।
१. विदेशबाट आयात हुने खादाको प्रयोगले राज्यकोषबाट वाषिर्क करोडौं रुपैँया रकम बाहिरिने अबस्था छ। खासै प्रयोजन नभएको वस्तुको आयात परिमाण बढ्दै गएको छ। हुन त फूलको माला पनी आयात नै हुने अवस्थामा उस्तै त हो नि भन्ने बिचार पनी आउछन। प्रयोग र आयात बढ्दै गएको भएका पनि आयात र खपतको वास्तबिक तथ्याङ्क सरकार या अन्य कुनै निकायसंग छैन। वस हामी यत्र तत्र सर्वत्र खादा वा ‘खादा’ स्वरुपी कपडा चैं देख्छौ
२. बढ्दो प्रयोग संगै ‘खादा’ प्लास्टिक तथा पुनः प्रयोग गर्न नमिल्ने, नडढ्ने र नसड्ने कच्चा पदार्थ प्रयोग गरि बनाईदैछ यसको प्रयोगले वातावरणलाई झन् प्रदुषित बनाउने तर्क समेत गरिन्छ। कार्यक्रम सकिएपछ खादा घरमा त्यति काम नलाग्ने हुँदा कतिपयले खादा त्यही कार्यक्रममै छोडेर जान्छन् । कतिले बाहिरतिर कतै फ्याकिदिन्छन् । यसले प्रदुषणमा बढ्ने देखिन्छ।
३. कार्यक्रमहरुमा खादा सिमित ल्याईएको हुन्छ अनी केहि व्याक्तिहरुलाई मात्रै लगाईन्छ। लगाउने गजक्क ठूलो मान्छे झै बसेको देख्दा ‘खादा’ बिनाका अनुहारहरु कहिले कहि ठुस्स परेर बसेको त कतिपय स्थानमा लुसुक्क हिडिहालेको पनि देखिन्छ।
के गर्नु पर्छ होला ?
१. ‘खादा’ प्रयोग गर्ने परेमा प्रमुख अतिथिलाई मात्रै गर्दा अन्य अतिथी पनि नछुट्ने र नचिढिने हुदा स्वागत सम्मान नै गर्नु पर्ने अतिथिलाई मात्रै लगाईदिदा व्यवस्थापन सहज हुने ।
२. धार्मिक प्रयोजनको लागी प्रयोग हुने खादा सम्बन्धमा तर्क वितर्क गर्दा बिबाद सिर्जना हुने र खादा बहिस्कार जस्ता निर्णयहरु कति ठाउमा हुदा अप्ठ्यारो परेको देखिन्छ। आयोजकहरु नै व्यबस्थीत र मर्यादिद हुनु पर्ने।
३. ‘खादा’ मृत व्याक्तिलाई चढाईएको बाहेक, पुनः प्रयोग गर्न पाईने हुन्छ। यसर्थ लगाइएको खादा संकलन गरी बिभिन्न कार्यक्रममा पुनः प्रयोग ल्याउने व्यवस्था गर्नु पर्छ। यसरी पुनः प्रयोगले फजुल खर्च कमी हुन्छ भने प्रदुषण पनि कम हुन्छ।
खादा प्रयोग गर्ने परे प्लास्टिकबाट बनेका र नसड्ने खादाहरू प्रयोग नगरौं, प्रयोग आवश्यक र मर्यादिद हिसाबले गरौंंं। प्रयोग गरिसके पछि जथाभाबी नफालौं । हामीले चाहदैमा ‘खादा’ को प्रयोग रोकिने वा कम हुने देखिदैन तर मर्यादित बनाऔं संगै पुनः प्रयोग हुनसक्ने हुदा सम्हालेर राखौं अनि संघ संस्थाहरूलाई दिऔं। सभा समारोह सकिदा साथ सम्मानपुर्वक त्यहि छोड्दा पनि हुन्छ। मैले त धेरै पटक आफ्नोमा जम्मा भएका ‘खादा’ हरु पुनः प्रयोगको लागि दान गर्ने गरेको छु। सानो प्रयासबाट अनावश्यक आयात, फजुलखर्जी र वातावरण प्रदुषणमा केही कमी ल्याउन सबैको पहलको अपेक्षा।
जय होस, शुभ होस!!

(खादाको बिषयमा गहकीला तर्क दिने ज्ञवाली नबिल बैंकका उच्च तहका कर्मचारी हुन् ।)