राजनीति

काँग्रेस एकढिक्का बनाउन मलाई देशभरका कार्यकर्ताको सहयोग जरुरी छः प्रधानमन्त्री देउवा

२० पौष, धरान । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने र यसका लागि देशैभरिका सबै कार्यकर्ताहरुको सहयोग आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, “नेपाली कांग्रेसका कार्यकर्ताहरु एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुनेछ, अब कांग्रेसको महाधिवेशन पनि सकिएको छ, आगामी दिनमा सबै एक भएर अघि बढ्नुपर्छ भन्ने मेरो आग्रह छ ।’’

यसलगत्तै प्रम देउवाले धरान सहरको १२१औँ वर्ष पुगेको अवसरमा आयोजित धरान दिवसको कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि आजै प्रधानमन्त्री देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए ।
फोहोर प्रशोधन केन्द्रको उद्घाटन
फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि आज सो केन्द्रको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ का भौतिक योजना तथा निर्माण मन्त्री हिमाल कार्की, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख तथा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीलगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले जानकारी दिए । २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ । यसमा उपमहानगरको कुनै पनि लगानी छैन ।

प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन् । १० टनमा तीनवटा चेम्बर छ । जम्मा १५ वटा चेम्बर छन् । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ । प्रशोधन केन्द्रले दैनिक दुई हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले जनाएका छन् । दैनिकजसो ४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ ।

कम्पनीले पानवारीमा एक बिघा दुई कट्ठा जमिन खरिद गरेर प्लान्ट स्थापना गरेको हो । सम्झौताअनुसार प्रालिले २० वर्षपछि प्रशोधन केन्द्रको सम्पूर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए ।