२२ पौष, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता शेखर कोईराला समूहको बैठकले आज काठमाडौंमा समिक्षा बैठक राखेको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा १८ सय ५छ मतसहित दोस्रो स्थान हाशिल गरेको कोईराला पक्षले आफुहरुलाई पेलेर लाने नीति सभापति शेरबहादुर देउवाले अंगाले पार्टीभित्र दुर्घटना हुने चेतावनी दिएका छन् ।
आजको बैठकमा कोईराला समूहका रामचन्द्र पौडेल, डा शसाँक कोईराला र प्रकाशमान सिंहबाहेक लगभग सबै नेताहरुको उपस्थिति रहेको थियो ।
पार्टीको केन्द्रीय महाधिवेशनमा सभापतिमा दोस्रो स्थान ल्याएका डा शेखर कोईरालालाई शेरबहादुर देउवाले २० औं नम्बरमा राख्नेलगायतका निर्णयहरु गर्दै एकलौटी रुपमा पेलेर लगेपछि आक्रोशित बनेको कोईराला पक्षले आज रणनीतिक बैठक बसेको छ ।
उनले भने, ‘‘महाधिवेशन भर्खरै सम्पन्न भएको छ, अहिले पार्टी संगठनभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन, तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामविरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगतरुपमा अगाडि बढोस् भन्ने चाहन्छौँ, सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ, पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’
१४ औं महाधिवेशनपछि आज बैठक कोईराला पक्षको पहिलो बैठक बसेको हो । केन्द्रीय सदस्यमा १३ जना मनोनित गर्दा डा कोईराला पक्षलाई एकपटक पनि नसोधेकोमा उक्त पक्ष आक्रोशित भएको छ ।
नेता डा शेखर कोइरालाले कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर आगामी निर्वाचनमा जनतामाझ जानुपर्ने बताएका छन् । डा कोइरालाले आज आफू निकट नेताहरूसँग छलफल गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई १ नम्बरको पार्टी बनाउन जनतामाझ जानुपर्ने बताए ।
उनले आम पार्टीका कार्यकर्ताको शिर झुक्न र निराश हुन नदिने प्रतिबद्धता व्यक्त गरे । “कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी छौँ, तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर देशको मुहार कांग्रेसले मात्र फेर्न सक्छ भन्ने अभियानमा हामी प्रतिबद्ध छौँ”, उनले भने ।
नेता डा कोइरालाले पार्टीभित्र हुने सबै कार्य न्यायसङ्गत, विधि, विधानसम्मत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट गर्न नेतृत्वलाई आग्रहसमेत गरे । पार्टीभित्र मनोनीत गर्दा योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।






