८ वैशाख, काठमाडौँ । बुधबार देखि संचालन भएको “सैनिक आचार संहिता कार्यक्रम-२०७९” को आज प्रधान सेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा समापन गरेका छन् ।
उक्त समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी शर्माले नेपाली सेनालाई समयानुकूल व्यावसायिक, आधुनिक र अनुशासित सङ्गठनको रूपमा विकास गरी राष्ट्रिय शक्तिको मजबुत अङ्गको रूपमा स्थापित गर्दै लैजानु सबैको साझा दायित्व भएको हुँदा यसका लागि नेपाली सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारीतायुक्त कार्यसंस्कृतिको विकास गर्दै लैजानु आजको आवश्यकता रहेको जानकारी गराएका थिए ।
सम्बोधनकै क्रममा प्रधान सेनापति महारथी शर्माले सैनिक मूल्य-मान्यतालाई सदैव केन्द्रमा राख्नु पर्ने धारणा व्यक्त गर्दै बदलिंदो सामाजिक, राजनैतिक र आर्थिक वातावरणका कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा सैनिक मूल्य मान्यतामा असर परिरहेको र यो क्रम बढ्दै गएमा यसको दीर्घकालीन असर सङ्गठनमा मात्र सिमित नरही राष्ट्रिय सुरक्षामा समेत पर्ने हुँदा यस विषयमा स्वदेश तथा विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जा सजग हुनु पर्ने बताएका थिए ।
नीति नियमले व्यक्तिलाई सहि मार्गनिर्देशन मात्र गर्ने तर उक्त बाटोमा हिँड्ने काम स्वयम् व्यक्तिको नै भएको जानकारी गराउदै उनले कतिपय अवस्थामा सैनिक सङ्गठनलाई विवादमा तान्ने गरी सङ्गठन भित्रका विषयवस्तुहरु प्रचार प्रसार हुने गरेको हुँदा त्यसतर्फ सबैले विशेष ध्यान दिई सतर्क रहन जरुरी रहेको बताई यस किसिमको कार्यक्रमले सैनिक आचरणको गहनतालाई अनुभुति गराउने तथा नेपाली सेनाका सकलदर्जामा एकढिक्कापनको विकास गरी, व्यक्ति र समूहको पेशागत क्षमता अभिबृद्धि सहित भविष्यमा आइपर्न सक्ने राष्ट्रिय सुरक्षासँग सम्बन्धित चुनौतीहरूलाई सामना गर्न हरदम तत्पर रहन निर्देशन समेत दिएका थिए।





