राजनीति

गठबन्धन जनमतको अपमान गर्ने प्रवृत्ति विरुद्ध हो: अध्यक्ष केसी


२३ वैशाख, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकारात्मक सन्देश दिन आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने बताए ।

वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको स्मरण गर्दै अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट गरे। व्यवस्था जोगाउने शर्तमा पाँच दलकाबीचमा गठबन्धन भएको उल्लेख गर्दै उनले गलत प्रचार गर्ने प्रवृत्तिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामीले इमान्दार भएर एक अर्कालाई सहयोग गरौँ । राष्ट्रिय जनमोर्चाले देशभर नै सहयोग गर्छ । गठबन्धनभन्दा प्रतिगमन बलियो छ । त्यसकारण संयुक्त प्रतिवाद गरौँ ।”

उनले राजनीति व्यवसाय नभएकाले इमान्दार भएर जनताको सेवा गर्नुपर्ने र जनतामा पैदा भएको वितृष्णालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । अध्यक्ष केसीले बुद्धिमत्तापूर्ण तरिकाले जनपक्षीय उम्मेदवारलाई विजयी गराउन र प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन मेट्रो रेल चलाउनुपर्ने, करको भार कम गर्नुपर्ने र फोहोरमैलाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। उनले गणतन्त्रको संस्थागत गर्दै सङ्घीय प्रणालीको प्रवद्र्धन गर्न, सबै तहमा सुशासन कायम गर्दै पारदर्शीरुपमा सेवाग्राहीलाई सुविधा दिने ध्येयका साथ काम गर्ने प्रतिबद्धताका साथ आफू निर्वाचनमा होमिएको बताए ।

सुशासन कायम गरेको खण्डमा देश समृद्ध हुने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका नेता श्रेष्ठले जनताको भावना विपरित जानेहरु पराजित हुने विश्वास व्यक्त गरे ।