२३ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौंसम्म आवश्यक रहेको बताएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट आज यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले भने “संविधानको हालको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि मुलुकका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।”
उनले सबै मिलेर सत्तागठबन्धनलाई सफल बनाउनु पर्नेमा जोड दिए। विगतमा आफू एक्लै निर्वाचनमा जाने रहर गर्दा पराजित भएको तथ्य पेश गर्दै सभापति देउवाले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाए।
कांग्रेसको केही समयअघि सम्पन्न १४औँ महाधिवेशनले पाँच दलीय गठबन्धनको आवश्यकता महसुस गरी सर्वसम्मतिले यससम्बन्धी प्रस्तावलाई पारित गरेको र केन्द्रीय समितिले पनि यसलाई अधिकार दिएको जानकारी दिए । “अहिले केही परस्पर विरोधी भावना भएकाले बखेडा झिकेका छन् । विगतमा विपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने यसको खिलाफमा छन्”, सभापति देउवाले भने ।
मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ र अर्को महानगर भरतपुर प्रमुखमा महिला उम्मेदवारलाई टिकट दिएर गठबन्धनले राम्रो काम गरेको बताउँदै उनले मतदातासमक्ष विजयी गराउन आह्वान गरे ।
काठमाडौँ महानगरको प्रमुखको उम्मेदवार सिर्जना सिंहका सन्दर्भमा उनले कसैको घरमा विवाह गरेर बुहारी बन्नु उनको दोष नभएको र त्यसैका आधारमा अवसरबाट वञ्चित गर्न नहुने उल्लेख गरे ।
त्यसैगरी भरतपुर महानगरका प्रमुखका उम्मेदवार रेणु दाहालले राम्रो काम गरेको प्रशंसा गर्दै उनले कहाँ जन्म हुने भन्ने कुरा कसैको हातमा नहुने हुँदा त्यस आधारमा आरोपित गर्न नहुने स्पष्ट पारे ।
काठमाडौँ महानगरको समग्र व्यवस्थापनका सन्दर्भमा उम्मेदवार सिंहका तर्फबाट प्रस्तुत गरिएको प्रतिबद्धताको प्रसंशा गर्दै प्रधानमन्त्री देउवाले छ महिनाभित्र यहाँको फोहोर व्यवस्थापन गरी सुन्दर नगरी बनाउने र त्यसबाट ऊर्जा उत्पादन गरेर चुल्हो बाल्न र सवारी साधनसमेत चलाउन सकिने बताए । सो कार्यका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले केपी शर्मा ओली प्रधानमन्त्री रहँदा जनमानसमा डर, त्रास र आतङ्क रहेको स्मरण गर्दै नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनतामा त्रास हटेर खुसी भएको समेत जानकारी गराए । उनले भने “सत्ता गठबन्धन जिन्दावाद । सबै मिलेर सफल पार्नुपर्छ ।”





