४ जेठ, भोजपुर । जिल्लाको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
यहाँ एमाले र कांग्रेसले तीन/तीन, नेकपा (माओवादी केन्द्र) दुई र एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिकामा एमालेले, भोजपुर नगरपालिका, अरुण र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसले जित हासिल गरेको छ । आमचोक र रामप्रसाद राई गाउँपालिकामा माओवादीले जित हासिल गरेको छ ।
आमचोकमा माओवादी एक्लै लडेको हो, भने रामप्रसाद राईमा कांग्रेस माओवादीले गठबन्धन गरेका थिए । साल्पासिलिछो गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका दौलथ कुलुङ विजयी भएका छन्। भोजपुरमा कांग्रेसबाट मेयरमा कैलाशकुमार आले पाँच हजार ६१५ मत प्राप्त विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तामाङले पाँच हजार १०० मत ल्याएका थिए ।
त्यस्तै उपमेयरमा एमालेकी निर्मला शेर्पा विजयी बनेका छन् । उनले रुख चिह्नबाट उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी)की ममिता राईलाई पाँच हजार ५०० पराजित गरे । निकटतम प्रतिद्वन्द्वी राईले पाँच हजार १३३ मत प्राप्त गरे । षडानन्द नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै एमालेका सुरेन्द्र कुमार उदास विजयी बनेका छन् । उनले छ हजार ७७२ मत ल्याए भने गठबन्धनका उम्मेदवार कांग्रेसका बिरवल राईले पाँच हजार ७५७ मत ल्याएर पराजित भए । उपमेयरमा सत्तारुढ गठबन्धनकी माओवादी उम्मेदवार प्रमिला राई विजयी बनिन् । उनले सात हजार २५७ मत ल्याएर विजयी बनेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मेरीका राईले चार हजार ३५८ मत प्राप्त गरिन् ।
पौवादुङमा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष दुवै पद एमालेले जितेको छ । यहाँ एमालेका किरण राई भारी मतान्तरका साथ अध्यक्षमा विजयी बने। उनले दुई हजार ४९९ मत प्राप्त गर्दा माओवादीका नगेन्द्र भुजेल ले एक हजार ६८८ मत र कांगेसका टेक नरसिं कार्कीले एक हजार ३७१ मत ल्याए। उपाध्यक्षमा एमालेकै ज्योत्सना राई दुई हजार ४०६ मत ल्याएर विजयी बने भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले एक हजार ७६९ र कांग्रेसकी रामकुमारी राईले एक हजार ३८७ मत प्राप्त गरिन् ।
हतुवागढीमा एमालेका प्रेमकुमार राई विजयी बने। उनले गठबन्धनका उम्मेदवार कांग्रेसका गजेन्द्रकुमार कार्कीलाई हराउँदै दोस्रो कार्यकालका लागि निर्वाचित बनेका हुन् । उनले कांग्रेसका कार्कीलाई अध्यक्ष पदमा ६८९ मतले हराए । राईले चार हजार ४२ मत पाए भने कार्की तीन हजार ३५३ मत ल्याएर पराजित भए । उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीकी सुनिता किराती तीन हजार ७०७ मत विजयी बने । राईकी निकटतम प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ६११ मत ल्याएर पराजित भए।
टेम्केमैयुङमा अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सरोज बस्नेत विजयी बने। उनले तीन हजार ९८० मत ल्याएर विजयी बने भने एमालेका ध्रुवराज राई तीन हजार २८८ मत ल्याएर पराजित भए । उपाध्यक्षमा एमालेकी रमादेवी राई विजयी बनिन् । राईले तीन हजार ३८८ मत ल्याए, भने उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीकी इन्द्रवती राई तीन हजार २९८ मत ल्याएर पराजित बनिन्।
अरुणमा काङ्ग्रेसले जित हासिल गरेको छ । यहाँ अध्यक्षमा दुई हजार ८८७ मत ल्याएर शालिकराम खत्री र तीन हजार मत ल्याएर उपाध्यक्षमा वितिना ढकाल विजयी बनेकी छिन् । खत्रीका निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण घिमिरेले दुई हजार ४२४ मत ल्याए । उपाध्यक्षकी प्रत्यासी कविता राईले दुई हजार ५४४ मत ल्याइन् ।
रामप्रसाद राईमा अध्यक्षमा गठबन्धनका साझ उम्मेदवार माओवादीका थामबहादुर राई तीन हजार ७० मत ल्याएर विजयी बनेका हुन् । राईका निकटतम प्रतिद्वन्द्वी एमालेका बलराम राई दुई हजार ८५१ मत ल्याएर पराजित बने । उपाध्यक्षमा कांग्रेसका वीरेन्द्र राई तीन हजार ५७७ मत ल्याएर विजयी बने भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमला राईले दुई हजार २१४ मत ल्याइन् ।
आमचोकमा माओवादीले जित हासिल गरेको छ । यहाँ अध्यक्षमा तीन हजार ६८६ मत ल्याएर अशोक राई विजयी बने भने एमालेका वसन्त राईले तीन हजार २५८ मत ल्याए। उपाध्यक्षमा सीता राई तीन हजार ५६१ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी छिरिङ शेर्पाले तीन हजार २४४ मत ल्याए ।
साल्पाछिलिछोमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । यहाँ एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका दौलथ राई एक हजार ८२४ मत ल्याएर विजयी बने । यहाँ एमालेका शान्तिबहादुर अधिकारीले तीन हजार ३८३ र कांग्रेसका महेश राईले तीन हजार ८६२ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसकी अस्मिता राई एक हजार ८६२ मत ल्याएर विजयी बने। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी रिता घलेले एक हजार ३९५ मत ल्याए । जिल्लामा ८१ ओटा वडामध्ये सबैभन्दा धेरै ३२ एमाले, २८ कांग्रेस, माओवादी १८, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक÷एक र एउटा वडा स्वतन्त्रले जितेका छन् ।





