समाचार

काठमाडौँ महानगरका प्रमुखमा स्वतन्त्रका शाह फराकिलो मतान्तरले कायमै, दोस्रो स्थानमा स्थापितलाई उछिन्दै सिंह


८ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । दोस्रो स्थानमा लामो समयदेखी अग्रता लिइरहेका एमालेका उम्मेदवार केशव स्थापितलाई कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले उछिनेकी छन् ।

आइतबार बिहान ५ बजेसम्म १ लाख ६ हजार ३ सय ५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा वालेन्द्र साहले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् । दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत ल्याएकी छन् । तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार ८ मत ल्याएका छन् ।
सिर्जना सिंहले केशव स्थापितलाई २ सय ९१ को मतान्तरले पछि पारेकी छन् ।

वालेन्द्रले एमालेसँग १७ हजार ३ सय २५ को मतान्तर बनाएका छन् भने कांग्रेससँग १७ हजार ३४ को मतान्तर बनाएका छन् ।

काठमाडौं महानगरपालिकाको ८४ हजारभन्दा बढी मत गणना गर्न बाँकी छ ।