प्रदेश 1

राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान प्रदान


१८ असार, पाँचथर । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान–२०७८ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले बर्सेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष राससका अध्यक्ष झा सम्मानित भएका हुन् ।

शाखाले आज पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्मानपत्र, दोसल्ला तथा नगद पुरस्कारसहित सम्मान गरे। उक्त सम्मान पुरस्कारको राशि रु ३३ हजार ३३३ रहेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पूर्वध्यक्षसमेत रहेका झाले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पु¥याएको योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।

सम्मानपछि अध्यक्ष झाले उक्त सम्मानले आफूलाई पुनः जिम्मेवारी बोध गराएको बताए । पत्रकारले प्राप्त गर्ने सबै सम्मान तथा पुरस्कारले पेशामा आबद्ध भई समाजको हितमा काम गरिरहन थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त हुने उल्लेख गर्दै अध्यक्ष झाले उक्त सम्मानले आफ्ना लागि ठूलो महत्व राख्ने बताए । पत्रकारले समाजको हितका लागि कार्य गर्ने भएकाले समाजले पत्रकारको सुरक्षा गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष झाले पत्रकार आचारसंहिता र स्वअनुशासनमा रहनु अपरिहा¥र्य रहेको बताए ।

पत्रकारितालाई थप विश्वासनीय र मर्यादित बनाउँदै खबरदारी गर्ने मुख्य जिम्मवारी पूरा गर्न निरन्तर लागिरहनु आवश्यक रहेको अध्यक्ष झाको भनाइ थियो । विसं २०२३ चैत ४ गते सिरहाको लहान नगरपालिका–१४ मा जन्मिएका झाले २०४३ देखि पत्रकारिता थालेका हुन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका झाले ५० वटाभन्दा बढी सङ्घसंस्थामा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । पत्रकारिताका क्षेत्रमा अन्तर्राष्ट्रिय सहभागितासमेत जनाएका उनले १७ अवार्ड प्राप्त गरेका छन् । उनी गोरखापत्र राष्ट्रिय दैनिकको नियमित स्तम्भकारसमेत छन् ।

नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका पूर्वसभापति लवदेव ढुङ्गानालाई दोस्रो जनआन्दोलनका क्रममा गैरकानूनी थुनामा राखिएको भन्दै जिल्ला अदालतले क्षतिपूर्ति दिन आदेश दिएको थियो । ढुङ्गानाले ५१ दिन गैरकानूनी थुनामा रहेबापत प्राप्त गरेको रु ३० हजारबाट उक्त पुरस्कार स्थापनाको सुरुआत भएको थियो । विसं २०६९ मा स्थापित पुरस्कार २०७२ सालदेखि प्रदान गरिँदै आएको छ । उक्त पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले र डा महेन्द्र विष्ट सम्मानित भइसकेका छन् । 

कार्यक्रममा चालु आर्थिक वर्षमा उत्कृष्ट फोटो प्रकाशन गर्ने राष्ट्रिय समाचार समितिका पाँचथर संवाददाता रवीन्द्र काफ्ले र उत्कृष्ट खोजमूलक समाचार प्रकाशन गर्ने कान्तिपुर मिडिया ग्रुपका लक्ष्मी गौतमलाई जनही रु पाँच हजार नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको छ । 

यस्तै नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले प्रदान गर्ने हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका पाँचथर संवाददाता खबिन लुइँटेल र प्रजापति–जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयबोध लावती पुरस्कृत भएका छन् ।