१८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा जुट्दा पार्टीले विधानअनुसार काम गर्न नसकेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्वाचनमा पार्टीका सबै शक्तिलाई परिचालन गर्नुपर्दा विधानअनुसार काम हुन नसकेको बताएका हुन् ।
“पार्टी विधानले महाधिवेशन भएको छ महिनाभित्र पार्टी पदाधिकारी नियुक्त गर्नुपर्ने, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने, विभाग गठन गर्नुपर्नेलगायतको व्यवस्था गरेको छ, पार्टी स्थानीय तह र सरकारको काममा लाग्दा उक्त कार्यहरू गर्न ढिलाइ भएको हो”, उनले भने । कांग्रेसले पार्टीको विभाग, केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी मनोनयनलाई चाँडो पूर्णता दिने उनको भनाइ छ ।
पूर्वमन्त्री लेखकले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएकोसमेत बताए । “जे उद्देश्यका साथ सरकार गठन भएको हो, अहिले पनि सोहीअनुरूप काम भइरहेको छ, स्थानीय तहमा पनि पार्टीले राम्रो नतिजा हासिल गरेको छ, सभापति देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल हुनुहुन्छ”, उनले भने ।
नेता लेखकले संविधानको रक्षा गर्दै देशलाई विकास गर्न वर्तमान पाँचदलीय गठबन्धन निर्माण भएको बताए । सरकारले आवधिक निर्वाचनलाई प्राथमिकता दिएको उनको भनाइ थियो ।





