समाचार

संयुक्त राष्ट्रसङ्घघका महासचिव एसियाली देशको भ्रमणमा जाँदै

१८ साउन, संयुक्त राष्टसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लागेको उनका प्रवक्ताले बताएका छन् । महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मङ्गोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लागेको बताएका हुन् ।

महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्नेछन् । जापानमा उनी हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनेछन् । त्यस अवसरमा उनले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । जापानमा रहँदा उनले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने छन् । जापानपछि उनी मङ्गोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानेछन् ।