३ माघ, काठमाडौं । नवनियुक्त भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री राजेन्द्रकुमार राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री राईले भने, “तपाईंहरू अनुभवी र विज्ञ हुनुहुन्छ, स्वार्थ समूहबाट हुनसक्ने बोलवालालाई निरुत्साहित गरी जनताको विश्वास जित्ने गरी सेवा प्रवाहलाई चुस्त तुल्याउने काम गरौँ ।”
मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बाहिरबाट हेर्दा एउटा मन्त्रालय देखिए पनि जनतासँग प्रत्यक्ष जोडिएका तीनवटा भिन्नभिन्न बृहत् क्षेत्र भएकाले आमजनताको आवाजलाई सम्बोधन गर्ने ढङ्गबाट कार्यसम्पादन गर्नु पर्नेमा जोड दिए।
यसअघि मन्त्री राईलाई मन्त्रालयमा सचिव डा रेग्मीसहितका कर्मचारीले स्वागत गरेक ाथिए । पदबहालीपछि मन्त्री राईले पहिलो निर्णयका रूपमा मन्त्रालयमा रिक्त रहेको प्रवक्तामा सहसचिव प्रकाश जोशीलाई जिम्मेवारी तोकिएकोसम्बन्धी फाइल सदर गरे ।
विसंं २०३५ मा तत्कालीन नेकपा मालेसम्बद्ध अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका नवनियुक्त मन्त्री राई १४ वर्षको किशोर उमेरमै धनकुटास्थित गोकुण्डेश्वर माविमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएक ाथिए ।
उनले अखिलको धनकुटा जिल्ला कमिटी अध्यक्ष, प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको जिल्ला अध्यक्ष, किसान महासङ्घको केन्द्रीय सदस्य र नेकपा (एमाले) धनकुटा जिल्ला कमिटिको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । विसं २०७८ मा एमालेको दशौँ महाधिवेशनबाट नवनियुक्त मन्त्री राई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
विसं २०४९ मा जिल्ला विकास समितिको सदस्य र २०५४ मा जिविस उपसभापतिको जम्मेवारी सम्हालिसकेका मन्त्री राईले स्नातकसम्म अध्ययन गरेका छन् । पिता तेजबहादुर र माता मोतीमाया राईका कोखबाट २०२२ साल भदौ २९ गते धनकुटाको पाख्रिबासमा जन्मीएका उनी यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट निर्वाचित थिए ।
विभिन्न राजनीतिक गतिविधिमा सरिक भएबापत करिब साढे दुई वर्ष जेल जीवन व्यतित गर्नुभएका नवनियुक्त मन्त्री राई आन्दोलका क्रममा पटकपटक प्रहरी हिरासतमा परेका थिए ।





