पर्यटन/संस्कृति

नेपाली मोडलको पर्यटन आवश्यक :  पर्यटनमन्त्री किराँती

२१ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन् । धार्मिक स्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना  गरेको ‘धरान एक्स्पो–२०७९’ समापन समारोहमा मन्त्री किरातले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले यसलाई पर्यटन केन्द्रका रूपमा विकास गरी स्वदेशी उत्पादनलाई  बजारीकरणको  पनि केन्द्र बनाउन सकिने धारणा व्यक्त गरे । 

पर्यटन प्रवर्द्धनका लागि यस भेगका उत्पादनलाई आफ्नो स्वाद, संस्कार संस्कृतिलाई नेपाली ‘मोडल’ बनाएर बजारीकरणका लागि ध्यानाकर्षण गराउँदै उनले नेपाली स्रोतसाधनलाई सामूहिक रूपमा परिचालन गर्न किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा जोड दिए ।

पूर्व मन्त्री मीन विश्वकर्माले उपलब्ध स्रोत र साधनलाई भरपुर उपयोगका लागि  स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्न उद्योगी तथा व्यवसायीसँग आग्रह गरे। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले धरानमा पर्यटनको विकासका लागि स्थानीय परिकारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै पूर्वको समग्र पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्डले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उत्पादनमुखी व्यापार तथा  व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बनाउन जरुरी भएको बताए। एक्सपोले धरान र यस वरपरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बोर्डका सदस्य कृष्ण शाहको भनाइ थियोे ।  

फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा पर्यटनसँग सम्बन्धित १५ सहित विभिन्न एक सय ३० कक्ष रहेको सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्षले विजय श्रेष्ठले जानकारी दिए ।