पर्यटन/संस्कृति

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा भैरव कुण्ड

२१ फागुन, सिन्धुपाल्चोक । यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल भैरव कुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरव कुण्डमा जनपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ । 

भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरव कुण्डको दर्शन गरेका मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको छ । भैरव कुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाउँ हो । कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ ।  अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरव कुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताउनुभयो । सातामा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेको उनले बताए । 

बिदाको समयमा हिउँ खेल्नलगायत मनोरञ्जनका लागि यहाँ अहिले पर्यटक पुग्ने गरेका छन् । ‘आइस’ बनेको ताल, त्यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न पाइने भएकाले भैरव कुण्ड पर्यटकको रोजाइमा परेको काठमाडौँ हाइकिङ ग्रुपका संयोजक अनिरुद्ध आचार्य बत्ताउँछन्।

अहिले हिउँदको समयमा सवारीसाधनमा डाँकलाङ, लिस्ती हुँदै चोकर मोकरसम्म पुग्न सकिन्छ । भैरव कुण्ड जाने बाटैमा पर्ने प्रसिद्ध लिस्तिमाइको दर्शन गर्दै जाने पर्यटकको सङ्ख्या बढेपछि अहिले यहाँका होटेल व्यवसायी, यातायात व्यवसायीदेखि स्थानीय खुसी छन् ।

सवारी चालक विशाल माझी पर्यटक बढेपछि आफ्नोलगायत होटेलको आम्दानी बढेको बत्ताउँछन्। सडक सुधार गर्न सके अझै पर्यटक बढ्ने उनको विश्वास छ । सिन्धुपाल्चोकमा एक सयभन्दा धेरै कुण्ड तथा ताल रहेका छन् । काठमाडौँबाट नजिकै भएकाले पनि यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलमा पर्यटक पुग्ने गरेका हुन्छन् । धार्मिक, आध्यात्मिक र प्राकृतिक हिसाबले रमणीय तथा सुन्दर भैरव कुण्ड पर्यटकको मनोकाङ्क्षा पूरा गर्ने उत्कृष्ट गन्तव्य बनेको सगरमाथा आरोही माया गुरुङको भनाइ छ ।

सिन्धुपाल्चोक पर्यटनको प्रशस्तै सम्भावना बोकेको जिल्ला हो । यहाँका अधिकांश स्थानीय तहले पर्यटन, कृषि, उद्योग र जलाधारलाई मूल नारा बनाएर काम गरिरहेका पाइन्छ । पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आय स्तर उकास्नका लागि टेवा पुग्ने सरोकारवालाको भनाइ छ ।