१३ बैशाख, बनियानी । झापामा खुद्रा विषादी बिक्रेताहरूलाई तालिम आयोजनासँगै परीक्षा पनि लिइएको छ । खुद्रा विषादी बिक्री गर्ने तर बिक्रीको इजाजतपत्र नभएका व्यवसायी र नयाँ व्यवसाय गर्न इच्छुक ५८ जनालाई छ दिने तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। सहभागीलाई जीवनाशक विषादी व्यवस्थापन ऐन, विषादीको वर्गीकरण, प्रकार, खाद्यबस्तुमा विषालुपना, बालीमा लाग्ने रोगकीरा, विषादीको सुरक्षित प्रयोग, भण्डारण, ओसारपसार, बिक्री वितरण र विर्सजनका विषयमा तालिम प्रदान गरिएको उनले बताए।
“कतिपयले जानी नजानी प्रतिबन्धित र हानिकारक विषादी बेचिरहेका छन्”, प्रमुख विष्टले भने, “इजाजतपत्र नभएकालाई इजाजत दिएर व्यवस्थित रुपमा विषादी बिक्रीवितरण गराउन तालिमसँगै परीक्षाको व्यवस्था गरिएको हो ।” यही वैशाख ३ गतेदेखि ८ गतेसम्म सञ्चालित तालिमपछि काठमाडौँको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले ८ गते नै परीक्षा लिएको थियो। दुई साताभित्र परीक्षाको नतिजा आउने र परीक्षामा उत्तीर्ण भएकाहरुलाई मात्र इजाजतपत्र प्रदान गरिने जनाइएको छ ।





