२९ साउन, काठमाडौं । सिआईबीले डा. रंजित कुमार यादवलाई छाडेको छ । कागजपत्र नक्कली भएको आरोपमा पक्राउ गरेपछि आज एक बिज्ञप्ती जारी गर्दै यादब निर्दोश रहेको प्रमाणीत भएका कारण छाडिएको जनाएको हो ।
नेपाल प्रहरीले डा शुनील शर्मालगायतका डाक्टरहरुलाई नक्कली सर्टिफिकेटको आशंकामा केहीदिन अगाडी पक्रउ गरी अनुसंधान गरेको थियो । अदालतको आदेशले डा शर्मा छुटेका छन् भने आज डा यादब पनि छुटेका छन् । मेडिकल काउँशीलले डा यादबको बिषयमा गलत सूचना दिएको र पछि गल्ती भयो भनेका कारण डा यादबलाई छाडिएको सिआईबीका प्रवक्ता नवराज अधिकारीले सुर्यखबरलाई जानकारी दिए ।
सिअाईबीले बिज्ञप्तीमा भनेको छः
प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रंजित कुमार यादव भएको लिखत सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा जिल्ला महोत्तरी, पिपरा–८ बस्ने विश्वनाथ यादवका छोरा वर्ष ३२ को रंजित कुमार यादवलाई मिति २०८०/०४/२५ गते जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका, लोकन्थलीबाट कानून बमोजिम जरुरी पक्राउ पूर्जी दिई पक्राउ गरी मिति २०८०/०४/२६ गते सम्मानित काठमाडौं जिल्ला अदालतबाट जरुरी पक्राउ पूर्जी स्वीकृति गरी पक्राउ मितिबाट लागू हुने गरी प्रथम पटक दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भई यस ब्यूरोको हिरासतमा राखी अनुसन्धान भई रहेकोमा नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौंको च नं १२३/२०८०/०८१ (प्र) मिति २०८०/०४/२८ गतेको पत्रद्वारा “यस काउन्सिलबाट मिति २०७८/०८/२८ गते थप कागज पत्र च नं ४०२/०७८/०७९ (प्र) मार्फत देवेन्द्र यादवका छोरा रंजित कुमार यादवको प्रमाण पत्रहरुको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रंजित कुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाण पत्र र आवेदन फारम भूलवस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु” भन्ने समेत व्यहोराको प्राप्त पत्र र प्रमाण कागजातहरु अनुसार हाल पक्राउ परेका डा. रंजित कुमार यादव वास्तविक प्रतिवादी नभएको एकीन हुन आएको हुँदा निजलाई प्रस्तुत कसूरको अनुसन्धानको लागि हिरासतमा राखी राख्न आवश्यक नदेखिएकोले मिति २०८०/०४/२८ गते नै जिम्मा जमानीमा छाडिएको व्यहोरा जानकारीको लागि सूचित गरिन्छ ।





