१४ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)को ४५औँ साधारणसभामा मन्त्री किराँतीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताए ।
“जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ, अफसिजनमा पनि पर्यटक ल्याउन सक्ननुपर्छ”, उनले भने । उनले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको धारणा राखे ।
“नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कूल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपाल पर्यटनको हव बन्नेछ”, उनले भने । पर्यटनमन्त्री किरातीले संसारको अग्लो हिमाल सगरमाथादेखि विभिन्न हिमशृङ्खला र पहाड पर्यटकका लागि पदयात्राको माध्यम बन्ने भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । उनले नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्न सकेमात्र पनि यहाँको पर्यटन विकासमा सहयोग पुग्ने बताए ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार लाग्ने बताइन ।
“सरोकारवाला पर्यटन व्यवसायीसँग छलफल र सहकार्य गरेर पर्यटन क्षेत्रका समस्या समाधानमा लाग्नेछौँ”, उनले भनिन् । उनले पर्यटन क्षेत्रसम्बन्धित ऐन पुरानो रहेको भन्दै यसलाई समयसापेक्ष हिसाबले संशोधन गर्दै लैजानुपर्ने उल्लेख गरिन ।





