२४ असोज, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्धव थापा नै कोशीको मुख्यमन्त्री हुने बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले मुख्यमन्त्री आफूलाई बनाउन प्रस्ताव गरेपछि सभापति देउवाले कांग्रेसले पाए दलका नेता थापा नै मुख्यमन्त्री हुने जवाफ दिएका हुन् ।
त्यस्तै, सभापति देउवाले अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हो भनेका छन् भने अर्को विकल्प आउँदा पार्टीभित्र सल्लाह गर्ने बताए । उनले अघि भने, “मुख्यमन्त्री बन्दा संस्थागत रूपमा बन्छ । कांग्रेसबाट बन्ने भयो भने जो संसदीय दलको नेता छ, त्यही हुन्छ । अरू हुँदैन ।”
दलको नेता नहुने परिस्थिति हुँदा सहयोग गरियोस् भन्ने आफ्नो प्रस्तावबारे देउवाले पार्टीका नेताहरूसँग छलफल गर्छु भन्ने जवाफ दिएको पराजुलीले जानकारी दिए । देउवाले राप्रपासँग निर्णायक वार्ता गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएको उनले सुनाए ।





