१५ माघ, संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले सोमबार सोमालियामा सन् २०२४ मा ५२ लाख मानिसको आवश्यकता पूरा गर्न १.६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । यो रकम गत वर्ष सन् २०२३ को तुलनामा झण्डै ४० प्रतिशतले घटेको देखिएको छ ।
मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) ले सोमालियामा मानवीय सहायताको खाँचोमा परेका मानिसहरूको सङ्ख्या सन् २०२३ मा ८२ लाख रहेकोमा सन् २०२४ मा ६९ लाखमा झरेको बताएको छ ।
बढ्दो सुख्खापन, बाढी, द्वन्द्व र असुरक्षाका साथै व्यापक गरिबी एवं रोगको प्रकोप जस्ता जलवायु परिवर्तनका घटनाहरूका कारण सन् २०२४ मा सोमालियामा मानवीय आवश्यकताहरू उच्च रहने पनि एजेन्सीले जनाएको छ ।
यसै बीच एजेन्सीले देशका १० जिल्लाहरूमा विभिन्न प्राकृतिक प्रकोपबाट सृजित समस्यालाई समाधान गर्न एकीकृत प्रतिक्रियालाई प्राथमिकता दिइने बताएको छ । एजेन्सीले विकास र अन्तरराष्ट्रिय वित्तीय साझेदारहरूसँग विभिन्न समस्याको दीर्घकालीन समाधान, पानी व्यवस्थापनसँग जोडिएका विपद् जोखिम न्यूनीकरण र सामाजिक सुरक्षा ढाँचाका बारेमा समस्या निराकरण गर्ने बारे योजना बन्न लागेको बताएको छ ।
एजेन्सीले सन् २०२३ अक्टोबरदेखि डिसेम्बरका बीचमा भारी वर्षा र बाढी निम्त्याउने एल निनो घटना जारी रहने प्रक्षेपण गरेको छ जसले गर्दा मार्च र अप्रिलको शुरुमा सामान्य माथि वर्षा हुने सम्भावना छ । संयुक्त राष्ट्रसंघ सोमाली जल र भूमि सूचना व्यवस्थापनको खाद्य तथा कृषि सङ्गठन द्वारा यस्ता अनुमान सार्वजनिक हुने गरेका छन् ।





