समाचार

केन्द्र सरकारद्वारा राहत रकम प्रदान

१८ साउन , दमौली । तनहुँ शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट रु छ लाख राहत प्रदान गरिएको छ । उनका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक दुई लाखका दरले छ लाख प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई रु दुई लाखका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई रु ५० हजारका दरले राहत रकम प्रदान गरिने उनले बताए ।

पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक ५० हजारका दरले रकम प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले पनि मृतकका परिवारलाई २५ हजारका दरले आर्थिक सहयोग गरेको छभने नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले रु पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ ।