२५ साउन, गलकोट । ब्रेन क्यान्सरबाट पीडित बागलुङ बजारका राजु केसीको उपचारका लागि ५३ लाख ३१ हजार सहयोग सङ्कलन भएको छ । सङ्कलित रकम शुक्रबार पत्रकार सम्मेलनमार्फत राजु केसीका बुबा रामबहादुर केसीलाई हस्तान्तरण गरिएको छ ।
केसीको उपचारमा नेपालबाट ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेपछि ५३ लाख सहयोग सङ्कलन गर्न सफल भएको र विदेशमा समेत उठेको सहयोगले झन्डै एक करोड उपचारका लागि जुटेको राजु केसी सहयोग मूल समितिका संयोजक जगदीश चन्द्र उपाध्ययाले जानकारी दिए ।
बागलुङ नगरपालिका–२ हल्लन चोकका ब्रेन क्यान्सरपीडित केसीको उपचारका लागि सहयोग सङ्कलन अभियानलाई स्थगनसमेत गरिएको उपाध्ययाले जानकारी दिए । केसीको हाल अष्ट्रेलियाको मेलबर्नमा उपचार भइरहेको छ । उनको उपचारमा हालसम्म परिवारले रु एक करोड ५० लाख खर्च गरिसकेको बुबा रामबहादुर केसीले जानकारी दिए ।





