समाचार

‘पत्रकार महिलाको समस्या समाधानका लागि एकता जरुरी’

१२ असोज, नयाँदिल्ली । नेपाल र भारतीय पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि एकता जरुरी रहेकामा जोड दिएका छन् । इनिसियटिभ अफ मिडिया वुमन९आइएमडब्ल्यू०ले शुक्रबार यहाँस्थित नेपाली राजदूतावासको बिपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजित कार्यक्रममा ‘नेपाली र भारतीय पत्रकार महिलाले भोग्ने चुनौती’बारे भएको छलफलमा सहकार्य र एकताको आवश्यता औँल्याइएको हो ।

भारतका लागि नेपाली कार्यवाहक राजदूत डा सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागिता बढाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि पत्रकारिताले अहम् भूमिका खेल्नसक्ने बताए । उनले दूतावासले आयोजना गर्ने हरेक कार्यक्रममा महिलाको सहभागिता र सहकार्यमा जोड दिएकोसमेत उल्लेख गरे ।

इन्डियन वुमन प्रेस कर्पस्का अध्यक्ष पारुल शर्माले भारतमा महिला पत्रकारको सङ्ख्या विस्तारै बढ्दै गए पनि स्वतन्त्र रुपमा काम गर्ने वातावरणमा विभिन्न चुनौती खेप्नुपरेको बताए । उनले दुई देशका पत्रकारले सहकार्यगरी एउटा सञ्जाल बनाउन सकिने धारणा व्यक्त गरे ।

प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहरीले दुई देशबीचका नागरिकस्तरको सम्बन्धलाई बलियो बनाउन यसप्रकारको छलफल आवश्यक रहेको बताए । क्लबले पत्रकार महिलाको वृद्धि र विकासका टेवा पुर्याउन सधैँ तत्पर रहेकोसमेत सुनाए ।

इनिसियटिभ अफ मिडिया वुमन९आइएमडब्ल्यूका महासचिव कविता अधिकारीले दुवै देशमा लोकतान्त्रिक प्रणाली भए पनि महिलाको अवस्था भने समान रहेको बताउनुभयो । अनुसन्धानकर्ता वेदप्रसाद शर्माले नेपाल र भारतका पत्रकार महिलाको साझा विचारविमर्श गर्न सञ्जाल निर्माण गर्न जरुरी रहेको बताए ।

अन्तरक्रियामा पत्रकार अदिति भाल, गीता श्री, पल शर्मा, ऋचा जैन, समृद्धि भट्नाकर, नीलम जिना, शोभा जैन, अञ्जु ग्रोबर, आनन्द के सहाय, सञ्जय झा, नेपाली पत्रकार आकाङ्क्षा शाहलगायत ३० जना पत्रकारको सहभागिता थियो ।