१२ असोज, झापा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संविधान संशोधन गरेर जनताले पाएका अधिकार खोस्न खोजेको भन्दै कुप्रचार गरिएको बताएका छन्।
नेकपा एमाले दमक नगर कमिटीले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले संविधान संशोधनको विषयमाथि जनतालाई भ्रममा पार्न कुप्रचार गरिँदै आएको उल्लेख गरे । मन्त्री दाहालले समानुपातिक, समावेशी, संघीयता लगायतका अपरिहार्य बुँदालाई तलमाथि गर्न नसकिने टिप्पणी गरे ।
निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ थियो । महिला, जनजाति लगायतको प्रत्यक्ष निर्वाचनमै संशोधन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री दाहालको भनाइ छ । मन्त्री भएपछि पहिलो पटक गृह नगर दमक आएका दाहालले आम जनताको सल्लाह सुझावमा संविधान संशोधन हुने बताए ।
संविधानको प्रसङ्ग उठाउँदै एउटा पार्टीको चाहनामा संविधान संशोधन नहुने र सबै राजनीतिक पार्टीको सहमतिमा मात्र संविधान संशोधन हुने भन्दै विभिन्न हल्लाको पछि नलाग्न पनि उनले कार्यकर्तालाई आग्रह गरे । देशको आवश्यकताका लागि ठुला दल एकै ठाउँमा आउनु अहिलेको साझा खाँचो भएको उनको टिप्पणी थियो ।





