समाचार

उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक

१६ मङ्सिर, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स युएईको ५३औँ एकीकरण दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए ।

त्यस अवसरमा नेपालका लागि युएईका राजदूत अब्दुल्ला अल शम्सीले नेपालले आगामी सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति हुने राष्ट्रिय लक्ष्यमा सघाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आपसी समझदारी र सहयोगमा आधारित युएई र नेपाल बीचको सम्बन्ध मानव संसाधन विकास, पर्यटन, ऊर्जालगायत क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै उनले ती क्षेत्रमा निरन्तर साझेदारी गर्न आफ्नो देश तत्पर छ भने।

राजदूत शम्सीले विश्वका एक सय ९० भन्दा बढी राष्ट्रसँग युएईको कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै जलवायु परिवर्तन र खाद्य सुरक्षाका क्षेत्रमा अन्तर्राष्ट्रियजगत्सँग मिलेर काम गरिरहेको बताए।

त्यस अवसरमा उपसभामुख इन्दिरा राना मगर, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, उद्योगपतिलगायतको उपस्थिति थियो ।