समाचार

राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता

१७ मङ्सिर, काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष दतुक नुर याजलान बिन तान सेरी मोहम्मदबीच आज क्वालालम्पुरमा शिष्टाचार भेट भएको छ ।

उपाध्यक्ष घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मदबीच क्वालालम्पुरस्थित संसद् भवनमा भेटवार्ता भएको हो ।

शिष्टाचार भेटका क्रममा उपाध्यक्ष घिमिरेले दुई देशबीच आगामी दिनमा संसदीय सहकार्य र अनुभव आदनप्रदान बढ्दै जाने विश्वास व्यक्त गरे । उनले मलेसियामा रहेका नेपाली आप्रवासी कामदारको समस्या समाधान गर्न मलेसियाली अधिकारीले प्रदान गरेको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा पनि मलेसियाली अधिकारीले नेपाली कामदारको सुरक्षा र हितका लागि आफ्नो बहुमूल्य सहयोग जारी राख्नेछन भन्ने विश्वास ब्यक्त गरे ।

“नेपाली कामदारले दुवै देशको आर्थिक वृद्धि र विकासमा योगदान पु¥याइरहेका छन्”, उनले भने, “दुई सरकारबीच कामदार भर्ना, रोजगारी र स्वदेश फिर्तासम्बन्धी समझदारी पत्र नवीकरणका लागि परिमार्जित मस्यौदा मलेसियालाई जानकारी गराइएको छ । नवीकरणको प्रक्रिया छिट्टै सम्पन्न हुनेमा हामी आशावादी छौँ ।”

मलेसियामा गौतमबुद्धका अनुयायी ठूलो सङ्ख्यामा रहेको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले लुम्बिनी तिलौराकोटजस्ता बौद्ध धर्मसँग सम्बन्धित धार्मिक स्थलमा मलेसियाबाट ठूलो सङ्ख्यामा पर्यटक लैजाने सम्भावना भएको बताए ।

उनले क्वालालम्पुर–भैरहवा सिधा हवाई उडान हुन सकेमा मलेसियाका मात्रै नभई छिमेकी बर्मा, कम्बोडिया, थाइल्याण्ड, लाओसका बौद्धमार्गीसमेत लाभान्वित हुन सक्ने भएकाले सिधा हवाई उडानका लागि पहल गर्न आग्रह पनि गरे ।

शिष्टाचार भेटका क्रममा मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मदले नेपाली कामदारले मलेसियाको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै कामदारको सुरक्षा र हितका लागि मलेसिया सरकारले सधै सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले दुवै देशका संसद्को सहकार्य बढाउनका लागि संसदीय मैत्री समूह गठन गरेर अगाडि बढ्न सकिने धारणा राखेको थिए ।

उपाध्यक्ष घिमिरे मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि १३ संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर मलेसिया गएका हुन् ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सोमबार मलेसियाको संसद्को स्थलगत अवलोकन गरेको छ भने आइतबार क्लालालम्पुरस्थित नेपाली दूतावासमा नेपाली श्रमिकका समस्याका बारेमा छलफल तथा जानकारी लिएको थियो । मलेसियामा हाल पाँच लाखभन्दा बढी नेपाली कामदार रहेका छन् ।