२८ मङ्सिर, कोलम्बो । श्रीलङ्कामा भारतीय अडानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र यसको वित्तपोषणमा अचानक परिवर्तनको बावजुद अगाडि बढ्ने श्रीलङ्काले बताएको छ ।
गत महिना न्यूयोर्कमा अर्बपति उद्योगपति गौतम अडानी र उनका सहकर्मीले जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्तालाई प्रभावित पारेको आरोप लगाइएको थियो ।
यो आरोपले अडानीको कम्पनीको शेयरमा व्यापक गिरावट आएको थियो भने र पारिवारिक फर्मको ‘कर्पोरेट गभर्नेन्स’मा प्रश्न उठाएको थियो ।
श्रीलङ्काका बन्दरगाहमन्त्री विमल रत्नायकेले अडानीमाथि लागेको आरोपले राजधानी कोलम्बोमा रहेको कन्टेनर टर्मिनल परियोजनामा कुनै असर नपारेको बताएका छन्।
“अडानी र अमेरिकाबीचको समस्या के हो, हाम्रो चिन्ताको विषय होइन,” बिहीबार राति बन्दरगाहको भ्रमणका क्रममा उनले पत्रकारसँग भने ।
उनले भने, “अडानीद्वारा पश्चिमी कन्टेनर टर्मिनल विकास अगाडि बढ्नु हाम्रो लागि उच्च महत्वको कुरा हो।”
रत्नायकेका अनुसार सन् २०२२ मा अभूतपूर्व सङ्कट र विदेशी ऋण नतिरेपछि समस्यामा परेको श्रीलङ्काको अर्थतन्त्रका लागि राजस्व सङ्कलन गर्न यो परियोजनाको निर्माण हुनु महत्त्वपूर्ण छ ।
बन्दरगाह परियोजनाको अनुमानित लागत ७० करोड अमेरिकी डलर रहेको छ र यो चिनियाँद्वारा सञ्चालित परियाजनाको नजिकमा अवस्थित छ ।
अडानी समूहले न्युयोर्कको अभियोगपछि अमेरिकी सरकारद्वारा समर्थित ५५ करोड ३० लाख अमेरिकी डलर को ऋणका लागि गरेको अनुरोध फिर्ता लिएको केही दिनपछि रत्नायकेको यो टिप्पणी आएको हो ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम डीएफसीसँगको ऋण सम्झौतालाई गत वर्ष अन्तिम रूप दिइएको थियो, यस परियोजनालाई हिन्द महासागरमा बेइजिङको बढ्दो प्रभावको सामना गर्ने माध्यमको रूपमा हेरिएको थियो ।
श्रीलङ्का विश्वको सबैभन्दा व्यस्त सामुद्रिक ढुवानी मार्गमा अवस्थित छ, जसले मध्य पूर्व र पूर्वी एशियालाई जोड्छ र देशको समुद्री सम्पत्तिलाई रणनीतिक महत्व दिन्छ ।
अडानी समूहले अब यो परियोजनाका लागि आफ्नै कोषबाट लगानी गर्ने बताएको छ ।
श्रीलङ्काले गत महिना अभियोग लगाएपछि उक्त बन्दरगाह र टापुको उत्तरमा ४४ करोड २० लाख अमेरिकी डलर बराबरको वायु ऊर्जा सम्झौतासहित समूहको स्थानीय परियोजनामा अनुसन्धान सुरु गरेको थियो ।
नयाँ बामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नोभेम्बरमा भएको चुनावमा भारी मतले विजयी हुनुअघि वायु उर्जा परियोजनाको विरुद्धमा अभियान चलाएका थिए ।





