समाचार

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

१४ पुस, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

मन्त्री डा राणाले आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्व सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उनप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । उनले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र थिए भनेकी छन् ।

उक्त पुस्तिकामा मन्त्री डा राणाले स्व सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गरेको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उनी सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गरेकी छन् । मन्त्री डा राणाले उनको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताएकी छन् ।

भारतीय पूर्वप्रधानमन्त्री डा सिंहको उपचारका क्रममा गत बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो ।