अन्तर्राष्ट्रिय

युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध

१५ पुस, मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुस करिब तीन वर्षको द्वन्द्व अन्त्य गर्न कुनै समझौताको हिस्साका रूपमा युक्रेनमा पश्चिमी शान्ति सैनिकहरूको तैनाथीको विरुद्धमा रहेको बताएका छन् ।

कुनै पनि शान्ति सम्झौता लागु गर्न युक्रेनमा विदेशी सेना राख्ने सम्भावनाको चर्चा पश्चिमी राजधानीहरूमा चलिरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यस महिना वार्सामा भएको बैठकमा यस विषयमा छलफल गरेका थिए ।

रूसी विदेश मन्त्रालयले सोमबार प्रकाशित गरेको अन्तर्वार्तामा लाभरोभले राज्य सञ्चालित तास समाचार एजेन्सीलाई मस्कोले त्यो विचार र अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका अन्य कुराहरूको विरोध गरेको बताए ।

“निस्सन्देह युक्रेनको नाटो सदस्यता २० वर्षका लागि स्थगित गर्ने र युक्रेनमा ‘बेलायती र युरोपेली सेना’ को शान्ति सेना पठाउने राष्ट्रपति–निर्वाचितका प्रतिनिधिहरूले उठाएका प्रस्तावहरूबाट हामी सन्तुष्ट छैनौँ”, उनले भने ।

क्रेमलिनले यसअघि ‘शान्ति सैनिकहरूको बारेमा कुरा गर्न निकै ढिलो भएको’ बताएको थियो ।

तीन हप्तामा सत्तामा आउने ट्रम्पले २४ घन्टामा शान्ति सम्झौता गर्न सक्ने दाबी गर्दै किएभलाई दिइने वासिङ्टनको अर्बौं डलरको आर्थिक र सैन्य सहयोगलाई प्रभावका रूपमा प्रयोग गर्ने बताएको छन् ।