१८ माघ, झापा । प्रजातान्त्रिक आन्दोलनका योद्धा यहाँस्थित हल्दिबारी–५ निवासी अमृतबहादुर आङ्देम्बेको ९९ वर्षको उमेरमा आज निधन भएको छ ।
विसं १९८२ मा पाँचथरको नवमीडाँडा–८ मा जन्मीएका आङदेम्बेको आज निधन भएको हो । उनी लामो समयदेखि हल्दिबारी–५ साविक जलथल–९ मा बसोबास गर्दै आएको थिए । नेपाली कांग्रेसले सञ्चालन गरेको मुक्तिसेनाका रूपमा सक्रिय आङ्देम्बे ‘चार सरकार’ का उपनामले चिनिन्थे ।
उनले बिपी कोइराला, अग्रज प्रजातान्त्रिक योद्धाहरू भूविक्रम नेम्बाङ, देवान दोर्जे, प्रेमराज आङ्देम्बे, मच्छिन्द्रबहादुर केरूङलगायत नेताहरूको निकटतम रहेर काम गरेको थिए । उनका छोराहरू नरविर, हस्तबहादुर, हर्कबहादुर, विष्णुबहादुर र छोरीहरू टीका र श्रीमाया आङदेम्बे छन् ।
हल्दिबारी–५ का वडाध्यक्ष खड्गबहादुर लावतीका अनुसार शनिबार बिहान ११ बजे निजी निवासबाट शवयात्रा प्रारम्भ भई चारकोशे झाडीस्थित चिहानडाँडामा अन्त्येष्टि गरिने छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले प्रजातन्त्र सेनानी स्व आङदेम्बेको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको जनाउँदै शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको छन् ।





