समाचार

निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा अध्यक्ष नेपालको जोड

१९ माघ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिएका छन्।

आज रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तरराष्ट्रिय विमानस्थल अनिवार्य भएको उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले निजगढ–काठमाडौँमा ‘फास्ट ट्र्याक’को निमार्णका साथसाथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको आवश्यकता औँल्याए । निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउनका पहल गरिरहेको भन्दै उनले नेपाल–भारतको सीमा समस्याबारे केन्द्रबाट समाधान गरिनुपर्ने धारणा राखे ।

स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिहरूले आवश्यकताका आधारमा आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने भन्दै दीर्घकालीन समाधान गर्न केन्द्रीय स्तरबाट नीतिगत रूपमा समाधान गर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिए । सीमा समस्या समाधानका लागि जुनसुकै समयमा सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो । अध्यक्ष नेपालले दुवै देशका नागरिकहरूको हित हुनेगरी सरकारले काम गर्नुपर्ने धारणा राखे ।