समाचार

आज संसद् बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

४ फागुन, काठमाडौँ । आज बस्ने सङ्घीय  संसद् अन्तर्गतको  प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। 

दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा अगाडी नै तय भएका प्रश्नहरू प्रधानमन्त्रीलाई सोधिने छ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको छ । समूहमा रहेका सदस्यहरूले आफ्नो प्रश्न लिखित रूपमा दर्ता गराइसकेका छन् भने तिनै प्रश्न संसद् बैठकमा प्रधानमन्त्रीलाई सांसदहरूले सोध्ने छन्। 

 पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो ।गत मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने जानकारी गराएका थिए ।