समाचार

प्रधानमन्त्री ओलीको प्रश्न: मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरिएको होइन र ?

४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश कसैको पार्टी फुटाउन नल्याएको बताएका छन्। आज बसेको प्रतिनिधिको सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नागरिकलाई सेवा सुविधामा सहज गराउन सरकारले अध्यादेश ल्याएको दाबी समेत गरेका छन् । प्रधानमन्त्री ओलीलाई माओवादी सांसद वर्षमान पुनले ‘अध्यादेशलाई ल्याएर संसद्लाई किन होच्याएको ?,’ भनेर प्रश्न गरेपछि प्रधानमन्त्रीको यस्तो जवाफ आएको हो। 

प्रधानमन्त्री ओलीले सांसद पुनको प्रश्नमा जवाफ दिँदै २०८० वैशाख २० गतेको घटनालाई सम्झन आग्रह गरेका थिए । उनले भने,‘ २०८० वैशाख २० गते सम्झन आग्रह गर्छु । त्यति बेला संसद् सुरु हुनुभन्दा ४ दिन अघि अध्यादेश ल्याएको थियो, अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा हो । अस्ति अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ, पार्टी फुटाउनका लागि भनेर ।’

सरकारलाई आवश्यक पर्दा जुनसुकै बेलापनि अध्यादेश ल्याउने कुरा संविधानले नै व्यवस्था गरेको प्रधानमन्त्रीको भनाइ थियो। 

जवाफ दिँदै प्रधानमन्त्री ओलीले ,‘मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरिएको होइन र ?,’ भन्दै प्रश्न गरेका थिए।