समाचार

पूर्वराजाको समर्थनमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन

२५ फागुन, काठमाडौँ।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई सिंहसानमा बसाल्ने भन्दै प्रदर्शनमा निस्किएका राजावादीहरूको आन्दोलनमा अनौठा दृश्य देखिएका छन्। राजावादीहरूले विमानस्थल क्षेत्रमा राष्ट्रिय झन्डासहित नाराबाजी गरिरहे भने केहीको हातमा भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत देखिएको छ। 

यो तस्बिर प्रदीपविक्रम राणा नामका एक जना राजावादीले हिन्दु राज्य स्थापना माग गर्दै प्रदर्शन गरेका हुन् । उक्त तस्बिर राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रको ठुलो फोटोसँगै राखेर प्रदर्शन गरिएको थियो। त्यस फोटोलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । 

पूर्व राजा गत माघ २७ गते पोखरा पुगेर उतै बसेका शाह काठमाडौँ आउने भएपछि केही वर्ष अघि फुटेका दुई राजावादी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नै विमानस्थल मै पुगेर स्वागत गर्न भ्याए। 

कुनैबेला नेकपा माओवादी केन्द्र र नेकपा एमालेका केन्द्रीय सदस्य बनेका व्यापारी दुर्गा प्रसाईँ पनि राजावादी बन्दै विमानस्थल पुगे। केही दिन अघि राप्रपाले आयोजना गरेको मोटरसाइकल र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नारा लगाइरहेका प्रसाईँ खुलेरै राजा फर्काउने अभियानमा देखा परेका छन्। यसअघि उनले एक्लै राजा फर्काउने भन्दै अभियान सुरु गरेका थिए।