१२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले युुवा तथा खेलकुुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको नेतृत्वलाई यस्तो निर्देशन दिएका छन् । आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्धयामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको तयारी थाल्न उनले निर्देशन दिएका छन्।
प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि उनले आग्रह गरेका थिए । परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषदको नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका छन् ।
छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङ लगायत सहभागी भएका थिए ।





