२५ साउन, काठमाडौँ । बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सम्बद्ध समितिका अध्यक्ष डा गोविन्द टण्डनलाई एक समारोहबीच सम्मान गरिएको छ ।
बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको जीर्णोद्धार र त्यसको समग्र विकासमा मार्गदर्शन तथा नेतृत्व प्रदान गर्नुका साथै नेपालको परम्परागत संस्कृतिको संरक्षण तथा गुठी व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै डा टण्डनलाई डा बलाराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले दुई लाख, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा चितवनको देवघाटधाम सङ्गमस्थलका अनन्त श्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज तथा प्रतिष्ठानका पदाधिकारीहरूले अध्यक्ष टण्डनलाई सम्मान गरेका हुन् । अनन्त श्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले अध्यक्ष डा टण्डनको योगदानको चर्चा गर्दै श्रीरामचन्द्र मन्दिरको जीर्णोद्धारसँगै उनले गुठी संरक्षण र परम्परागत संस्कृतिको जगेर्ना गर्ने महत्वपूर्ण कार्य गर्नुभएको बताए । उनले भने, “डा टण्डन लामो समयदेखि सांस्कृतिक सम्पदा संरक्षण, गुठी व्यवस्थापन तथा धार्मिक संरचनाको संरक्षणमा सक्रिय रहँदै आउनुभएको छ । उहाँको पहलमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरलाई देशको एक दर्शनीय तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण धार्मिक गन्तव्यको रूपमा विकास गरिएको छ ।” सम्मान ग्रहण गर्दै अध्यक्ष डा टण्डनले गुठी संरक्षण र परम्परागत संस्कृतिको जगेर्ना आफ्नो जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । उनले भने, “सम्मानले भविष्यमा अझ बढी समाज सेवा गर्न प्रेरणा मिल्नेछ ।”





