समाचार

राससको सेवा अझ बढी प्रभावकारी बनाउन सेवाग्राहीका यास्ता आए सकारात्मक सुझाव

२९ साउन, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का सेवाग्राहीहरुले राससको समाचार सेवामा थप सुधार गर्नुपर्ने सुझाव दिएका छन् । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आज आयोजित ‘समाचार सेवाको गुणस्तर र प्रभावकारीता’ अर्धवार्षिक अन्तरक्रियामा सेवाग्राहीहरुले राससको सेवालाई अझ बढी प्रभावकारी, गुणस्तरीय एवं सेवाग्राहीमैत्री बनाउन सुझाव दिए । उनीहरुले आलेख, विचार र बिटसँग सम्बन्धित समाचारलाई खोजमूलक बनाउन पनि सुझाव दिए । गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले राससको सेवासँगै दायित्व र भूमिका पनि बढेको उल्लेख गरे । उनले भने, “राससको तस्बिर सेवा राम्रो छ, क्याप्सन लेखनमा भने सुधार गर्नुपर्ने छ, हामीले सही र आधिकारिक समाचार दिने संस्थाको प्रभावकारीता बढाउँदै र बचाउँदै लैजानुपर्छ ।” प्रभाव दैनिकका सम्पादक विष्णु तामाङले राससले आफ्ना सेवालाई क्रमशः सुधार गर्दै लगेको उल्लेख गर्दै आगामी दिनमा राससको समग्र सेवामा थप सुधार हुने विश्वास व्यक्त गरे । ‘टेक्नोलोजी खबर डटकम’का सम्पादक साजन सुवेदीले राससले अनुवाद र भाषामा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । यस्तै ‘सूर्यखबर डटकम’का प्रधान सम्पादक बाबुराम आचार्यले राससको सेवा प्रभावकारी बन्दै गएको उल्लेख गर्दै पछिल्लो समय राससका सेवा आम सञ्चारमाध्यमहरुका लागि महत्वपूर्ण खुराक बन्दै गएको बताए । उनले थोरै जनशक्तीले पनि राससले धेरै भन्दा धेरै मिडियालाई समाचारमा राहत दिएको भूल्न नहुने भन्दै सरकारी मिडियाका बिभिन्न बाध्यताकाबीच पनि समाचार सामाग्रहरु दिएको बताए । प्रधान सम्पादक आचार्यले पछिल्लो समयको टिभि, त्रिकार, अनलाईनलगायतमा विज्ञापनको संकट भएर मिडिया संचालनमा समस्या भएका बेला राससले दिएका समाचार सामग्रीले भएको फाईदालाई राससले भुल्न नहुने बताए । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका आफ्नै सीमा र प्राथमिताबीच सेवा प्रवाहलाई थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । “राससले राज्यका प्रमुख अङ्गहरुबीच शक्ति सन्तुलनको पाटो र आम जनताका चासोसँग जोडिएका विषयवस्तुलाई सन्तुलित तथा प्राथमिताका साथ स्थान दिँदै आएको छ”, उनले भने, “सम्भव भएसम्म भ्रामक, तथ्यहित र गलत सूचना रोक्ने प्रयास गरिएको छ, आफ्ना सेवालाई निरन्तर सुधार गरी अघि बढाइरहेका छौँ ।” कार्यकारी अध्यक्ष झाले एआई (कृत्रिम बौद्धिकता) को प्रयोगलाई सहयोगी उपकरणका रुपमा आवश्यकता अनुसार प्रयोगको अभ्यास गरिएको बताए । उनले भने, “सुधार निरन्तर प्रक्रिया हो, सेवाग्राहीबाट आएका सुझावले राससलाई थप बलियो बनाउने छ, आगामी दिनमा पनि सेवाग्राहीसँग यी र यस्ता सुझावको अपेक्षा गर्दछु ।” राससलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने योजना अनुसार रासस मिडिया सङ्ग्रहालय, समाचार बुलेटिन कक्ष र पुस्तकालय स्थापित गरेको उहाँले जानकारी दिए । रासस सञ्चालक समितिका सदस्य तथा आलेख शाखा प्रमुख कृष्ण अधिकारीले भाषागत त्रुटि सच्याउँदै आलेख तथा खोजी समाचारलाई प्राथमिकता दिने बताए । राससका नायब महाप्रबन्धक राजु शाक्यले राससको श्रव्यदृश्य र श्रव्य सेवालाई थप प्रभावकारी बनाइने बताए । प्रधान सम्पादक उत्तम सिल्वालले सेवाग्राहीबाट आएका सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले राससको सेवा प्रवाहको गुणस्तर वृद्धिका लागि सेवाग्राहीबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने कार्यलाई समितिले प्राथमिता दिने बताए । अन्तरक्रिया कार्यक्रममा विभिन्न सञ्चारमाध्यमकका प्रतिनिधिहरु सहभागी थिए ।