२५ भदौ, कञ्चनपुर । कञ्चनपुर कारागारबाट मङ्गलबार राति फरार भएका मध्ये हालसम्म २१ जना कैदीबन्दी फिर्ता भएका छन् ।
कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा कुल ४७९ कैदीबन्दी थिए । मङ्गलबार राति करिब तीन–चार सयको सङ्ख्यामा घरेलु हतियारसहित आएका व्यक्तिहरु कारागार प्रवेश गरी मूलगेटको ताला तोडेर कैदीबन्दीलाई भाग्न सहयोग गरेका थिए । “भागेका मध्ये २१ जना कारागार फर्किएका छन्,” प्रशासक जोशीले भने, “केही कैदीबन्दीहरू सम्पर्कमा छन् र फर्किने बताएका छन् तर कफ्र्यू आदेश जारी भएकाले फर्कन नसकेको जानकारी दिएका छन् ।” उहाँका अनुसार हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीहरूको खोजतलासका लागि प्रहरी परिचालन गरिएको छ । कारागारमा ४५३ पुरुष र २६ महिला गरी कुल ४७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी १६९ जना लागुऔषध सम्बन्धी मुद्दाका थिए । यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई शीघ्र कारागार कार्यालय वा नजिकैको सुरक्षा निकायमा सम्पर्कमा आउन आग्रह गरेको छ । “सम्पर्कमा नआउने कैदीबन्दीमाथि कानुनअनुसार कडा कारबाही हुनेछ,” सूचनामा उल्लेख छ ।
डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ
डडेल्धुरा । डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् । आज बिहान आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
भागेका बाँकी कैदीबन्दीहरु खोज्ने क्रम जारी रहेको कारागार प्रमुख सन्तोष भट्टले जानकारी दिए । यहाँको कारागारमा १२७ जना कैदीबन्दी थिए ।




