साहित्य

म मुर्दाहरुको गीत गाउँछु..

-अनिश्चयको यात्रा –प्रकाशचन्द्र खतिवडा

आर्यघाटको चित्कार सुनेर
पशुपतिका बाँदर तर्सन्छन्
परेवा वेगिन्छन गुहुवेश्वरी तिर
साँढे झोक्राउँछ
शिवजी लाश गनी बस्छन्
एक, दुई, तीन, चार ।

सुन्निछ, चिता बाटै हराउँछन लाशहरु
अघोरी रमाउँछ
मुर्दाहरुो आगमनमा
मलामीहरु मूकदर्शक छन
अस्तु नै हराए पछि ।

म मुर्दाहरुको कविता लेखेर
प्लेकार्ड बनाउँछु
जुलुस निकाल्छु
जिन्दावाद र मुर्दावादको नारा लगाउँछु
मुर्दाहरु बोल्दैनन्
रमितेहरु रमित हेर्छन्
म मुर्दाहरुको गीत गाउँछु ।

मैले सडकबाटै
वेवारिसे लाशहरु बटुलेर
मसान घाट लगेको हुँ
मलाई हत्यारो भन्न मिल्दैन
हत्याराका नाइकेहरु दरबारमा लुकेर
गोली हान्ने आदेश दिन्छन्
जुलुस प्रतिकार गर्छ
बाँच्न पाउने अधिकार सुरक्षित राख
तिम्रो संविधान तिमी नै किन च्यात्छौ ?

अन्ततोगत्वा
सयौं लाशहरु
मुर्दाघरमा राखिन्छन्
जुलुस अगि बढ्छ
आगजनी र तोडफोड हुन्छ
म खरानीको टीका लगाएर
उद्धारमा खटिन्छु ।

म रहरले
आर्यघाट गएको हैन
बा आमाहरु शोकमा छन
सामुहिक दाह संस्कारको तयारी भैरहेछ
लाशहरु राष्ट्रिय झण्डा ओढाइएर
चिता माथि चढाइएको छ
केही बेरमै
भविष्य खरानीमा परिणत हुने छ
बा आमाका सपना अधुरै रहे
श्रद्धाञ्जली व्यक्त गर्दै
मुर्दाहरुलाई सलाम गरी
म गरुङ्गो मन लिएर
आर्यघाट बाट फर्कदैछु
अनिश्चयको अर्को यात्रा तिर ।

                                      सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
                                        ९८४२०७३५२५