समाचार

बाढी–पहिरोले यातायात ठप्प, तीन मुख्य राजमार्ग बन्द

१४ कात्तिक, काठमाडौँ ।  लगातार वर्षाका कारण विभिन्न जिल्लामा बाढी र पहिरोले राजमार्ग अवरुद्ध भएका छन्। विशेषगरी तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्गमा यातायात प्रभावित भएको छ।

पाँचथर–धनकुटा सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा र मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर बन्द भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

त्यस्तै, इलामको राजदुवाली क्षेत्रमा पनि मेची राजमार्ग अवरुद्ध छ। गत असोजमा आएको बाढी र पहिरोले पुरानो ट्र्याकमा क्षति पुर्‍याएपछि निर्माण गरिएको नयाँ मार्गमा समेत पहिरो गएको र जमिन भासिएपछि सडक सञ्चालनमा रोक लागेको हो।

कोशी प्रदेशका इलामसहितका जिल्ला मोन्था चक्रवातको आंशिक प्रभावमा पर्न सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझदेखि सो सडक खण्डमा सवारी आवागमन बन्द गरेको थियो।

बीपी राजमार्गमा पनि पहिरोको कारण सवारी सञ्चालन असम्भव भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।