प्रदेश 1

धरान मेयर साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगको मान्यता

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो ।

आयोगका अनुसार जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो । आयोगमा १२५ दलको दर्ता कायम छ ।

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले भने, “ हामीले २८ सदस्यीय कार्यसमिति बनाएका छौँ, हामी देशका लागि काम गरेर देखाउँछौँ । देश र जनताप्रति हामी इमानदार छौँ ।”

श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटो राखिएको छ। पार्टीमा कुल २८ जना केन्द्रीय सदस्य र ५ जना पदाधिकारी रहेका छन्। पदाधिकारीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्।

साम्पाङले गत असोज १२ गते आइतबार स्वयं निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन बुझाएका थिए।