बाग्मती

पाँचखालमा बस ठक्कर: एकको मृत्यु, राजमार्ग अवरुद्ध

४ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक वृद्ध पुरुषको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका सोही स्थानका ६५ वर्षीय दिलबहादुर श्रेष्ठ (तीनधारे माइला)को धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिए।

घटना दुई वटा बस यात्रु चढाउन भन्दै तीव्र गतिमा प्रतिस्पर्धा गर्दै आएका बेला भएको बताइएको छ। तीमध्ये बा २ ख ६५७९ नम्बरको बस अनियन्त्रित भई श्रेष्ठलाई ठक्कर दिएको थियो।

मृत्युपछि आक्रोशित स्थानीयबासिन्दाले अरनिको राजमार्ग अवरुद्ध गर्दै दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। प्रहरी चौकी पाँचखालका प्रमुख प्रशान्त तामाङका अनुसार राजमार्ग अवरुद्ध रहेको छ।

नगरप्रमुख खरेलले पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन तथा अवरुद्ध राजमार्ग सुचारु गराउन पहल भइरहेको बताए।