७ मंसिर, विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थल नजिक रातो मसी छ्याप्ने प्रयास भएको घटनाप्रति उनले कडा प्रतिक्रिया दिएका छन्। बस्नेतले यस्तो कार्य लोकतान्त्रिक मर्यादाविपरीत रहेको भन्दै निन्दा गरेका हुन्।
विमानस्थलबाट कार्यक्रमस्थलतर्फ जाँदै गर्दा दुई युवाले रातो मसी छ्यापेको घटनालाई ‘गम्भीर र निन्दनीय’ भन्दै बस्नेतले भने, “लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा जुलुस र स्वतन्त्र आवत–जावत सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत स्वीकार्य हुँदैन।”
घटनापछि प्रहरीद्वारा तत्काल प्रतिक्रिया जनाइएपछि उनले प्रहरीको चाँडो तत्परताप्रति धन्यवाद व्यक्त गरेका छन्।
बस्नेतले हिंसा र अराजकतालाई अस्वीकार्य बताउँदै विचार, संवाद र लोकतान्त्रिक प्रक्रियामार्फत नै देश अघि बढ्ने उल्लेख गरेका छन्। उनका अनुसार हिंसा र आपराधिक गतिविधिले लोकतान्त्रिक वातावरण खल्बल्याउने भएकाले यसप्रकारका कार्य रोक्न आवश्यक छ।
महेश बस्नेतले सामाजिक सञ्जालमा यस्तो लेखेका छन:
“विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।”
प्रहरीको तत्परताप्रति धन्यवाद।
हिंसा होइन/विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ।
अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।
बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।”
यसैबिच एमाले नेता महेश बस्नेत सवार गाडीमा एयरपोर्ट लाइनमा रातो मसी फ्याँक्ने दुई युवक नेविसंघ आवद्ध विद्यार्थी रहेको खुलेको छ। पक्राउ पर्नेमा सन्जोग गौतम र अर्पित कुँवर रहेका छन्।





