१२ मंसिर, काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र रहेको ४१ मिटर लामो पुलको ठेक्का सरकारले तोडेको छ। हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो।
पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि, भरतपुरले पाएको थियो। तर कम्पनीले काम अलपत्र पारेर सम्पर्कमा नआएको कारण निर्देशनालयले ठेक्का तोडेको जनाएको छ।
सूचनामा भनिएको छ कि निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो। तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र प्रतिनिधि पनि सम्पर्कमा नआएको कारण ठेक्का तोड्नुपर्ने अवस्था आएको हो।
निर्देशनालयले ठेक्का तोडिएसँगै सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (८) अनुसार कार्य सम्पादन जमानत जफत गर्ने, बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी सरह असुल गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस गर्ने जनाएको छ।
साथै, बाँकी कामको नापजाँच र मूल्यांकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र उपस्थित हुन भनिएको छ। यदि निर्माण व्यवसायी वा प्रतिनिधि उपस्थित नभए, कार्यालयबाट नापजाँच गरिने जनाएको छ।
यसअघि सरकारले १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का पनि तोडिसकेको थियो।






