उर्जा

माथिल्लो अरुणमा एनआरएनका लागि १२ अर्बको सेयर प्रस्ताव

१४ मङ्सिर, काठमाडौँ ।  संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा गैरआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि करिब १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको साधारण सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।

नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा अघि बढिरहेको आयोजनाको निर्माण लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर (करिब २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ) पर्ने अनुमान गरिएको छ। व्याजसमेत जोड्दा कुल लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ पुग्ने प्राधिकरणले जनाएको छ। आयोजनामा कूल लागतको ३० प्रतिशत (७१ अर्ब ९४ करोड रुपैयाँ) इक्विटी रहनेछ भने ७० प्रतिशत (१ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ) ऋणबाट जुटाइनेछ।

वित्तीय संरचना अनुसार आयोजनामा लगानी हुने ४९ प्रतिशत साधारण सेयरमध्ये १८ प्रतिशत एनआरएन तथा विदेशमा कार्यरत नेपाली, १० प्रतिशत आयोजना प्रभावित क्षेत्र तथा संखुवासभा जिल्लाबासी, १८ प्रतिशत देशभरका सर्वसाधारण, २ प्रतिशत पिछडिएको क्षेत्र र १ प्रतिशत प्रवर्धक निकायका कर्मचारीका लागि छुट्याइएको छ। यस्तै संस्थापक सेयर ५१ प्रतिशत रहनेछ, जसमा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत (२९ अर्ब ४९ करोड रुपैयाँ) प्रमुख हिस्सा रहनेछ। बाँकी संस्थापक लगानीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, प्रदेश तथा स्थानीय सरकार, नेपाल टेलिकम र बीमा क्षेत्रका संस्था सहभागी हुने प्रस्ताव छ।

आयोजनाको ७ वर्ष निर्माण अवधिमा वार्षिक ब्याजदर ७ प्रतिशत रहने अनुमान गरिएको छ। वित्तीय व्यवस्था सहज बनाउन प्राधिकरणले मिश्रित लगानी मोडेल प्रस्ताव गरेको छ, जसअनुसार कूल ऋणको ४५ प्रतिशत कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषलगायत संस्थाबाट सहुलियतपूर्ण सहवित्तीयकरणमार्फत जुटाइनेछ। त्यसबाहेक ३० प्रतिशत ऊर्जा बण्ड जारी गरी र बाँकी २५ प्रतिशत बैंक तथा वित्तीय संस्थामार्फत सहवित्तीयकरणबाट संकलन गरिनेछ। आयोजना सञ्चालनमा आएपछि पहिलो वर्ष २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ भने ८ वर्षसम्म ३ प्रतिशत मूल्यवृद्धिसहित वार्षिक आम्दानी ३४ अर्ब ५९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने जनाइएको छ। हाल निर्माणपूर्वका कामहरू तीव्र गतिमा भइरहेका छन्। विद्युतगृह (छोङराङ)देखि बाँधस्थल (चेपुवा) सम्म २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ भने अरुण नदीमा ७० मिटर लामो स्टील आर्क पुल निर्माणाधीन अवस्थामा छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आयोजनालाई स्वदेशी पूँजी र जनसहभागितामार्फत अगाडि बढाइने बताउँदै निर्माण चरणमा छिटो प्रवेश गरिने जानकारी दिएका छन्।