२३ मंसिर, काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक निर्माणको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्माण कार्य ठप्प पार्दै लगातार प्रगति नदेखिएको भन्दै योजना कार्यालय इटहरीले श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि.सँगको सम्झौता अन्त्य गरेको हो।
हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जानकारी दिएको छ। २३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडक तीन वर्षभित्र बनिसक्ने योजना थियो। तर चार वर्ष कटिसक्दा पनि निर्माण प्रगति करिब २५ प्रतिशत मात्रै पुगेको कार्यालयले जनाएको छ।
कहिले ४ लेन, कहिले ६ लेनमा विस्तार गर्ने गरी सम्झौता भएको यो सडकका लागि दुई पटक म्याद थप गरिएको थियो। तर पछिल्लो पटक थपिएको म्याद गत जेठमा सकिए पनि कम्पनीले काम अघि नबढाएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए। उनका अनुसार पटक–पटक ताकेता गर्दा पनि कम्पनीले प्रतिबद्धता अनुसार काम अघि नबढाएपछि ठेक्का रद्द गरिएको हो।
सम्झौता रद्दसँगै निर्माण व्यवसायीको कार्यसम्पादन जमानतको ४ करोड १९ लाख रुपैयाँ र पेश्की वापतको ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकमा पत्राचार गरिएको छ। पेश्की रकम १० प्रतिशत ब्याजसहित असूलीकरण गरिने कार्यालयले जनाएको छ।
कार्यालयले साउनमै ‘ठेक्का किन नतोड्ने ?’ भन्दै कम्पनीसँग १५ दिने स्पष्टीकरण मागेको थियो। तर कम्पनीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नआएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको योजना कार्यालयले स्पष्ट पारेको छ।
सम्झौताअनुसार समयमै काम सम्पन्न नहुनु, अद्यावधिक कार्ययोजना नपेश गर्नु, स्रोत परिचालनको भरपर्दो योजना नल्याउनु र कम्पनीका आधिकारिक प्रतिनिधि समेत उपस्थित नहुनु सम्झौता उल्लंघनका प्रमुख कारण भएको कार्यालयको मूल्यांकन छ। साथै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने तयारी पनि भइरहेको छ।
कार्यालयले हालसम्मको प्रगति, बाँकी कामको नापजाँच तथा वित्तीय मूल्यांकनका लागि १५ दिनभित्र उपस्थित हुन कम्पनीलाई अनुरोध गरेको छ। निर्माण कम्पनी नआएमा कार्यालय स्वयं नापजाँच प्रक्रिया अघि बढाउने जनाएको छ।





